कमलको घातक बलिङमा प्रदेश–२ माथि गण्डकीको शानदार जित

काठमाडौं– वाइवाई पुरुष यू-१९ एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत सोमबारको खेलमा गण्डकी प्रदेशले प्रदेश-२ माथि ५५ रनको जित हात पारेको छ । १५७ रनको विजयी लक्ष्य पछ्याएको प्रदेश-२ ले २२.५ ओभरमा सबै विकेट गुमाउँदै १०१ रन मात्र बनाउन सक्यो ।

प्रदेश-२ का लागि तृतराज दासले सर्वाधिक ३१, रोहन विकले २३, आदिल अन्सारीले १९ र कप्तान विवेक यादवले १० रनको योगदान दिँदा अन्य ब्याटम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्।

गण्डकीका लागि कमल परियारले ५, सुवास भण्डारीले ३ र किरण पौडेलले २ विकेट हात पारे।यसअघि मूलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको गण्डकीले ४३.४ ओभरमा सबै विकेट गुमाउँदै १५६ रन बनाएको थियो ।

गण्डकीका लागि अर्जुन कुमालले सर्वाधिक ४७ रनको योगदान दिए । ८८ बलको सामना गरेका उनले ७ चौका प्रहार गरे ।

सन्देश सुनारले २६ तथा सचिनराज अधिकारी र कमल परियारले १४/१४ रन जोडे । प्रदेश २ का लागि विवेक यादवले ५, गुल्सन झाले ३ तथा प्रदिप पासवान र अजय यादवले १/१ विकेट हात पारे । यो जितसँगै गण्डकीले ४ खेलमा ४ अंक जोड्दा प्रदेश २ को पनि समान खेलबाट ४ अंक नै छ ।

Loading...