यू–१९ क्रिकेटमा चम्किँदै अर्जुन साउँद, सुदूरपश्चिमलाई दिलाए रोमाञ्चक जित

काठमाडौं– वाइवाइ पुरुष यू-१९ एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत मंगलबारको खेलमा सुदूरपश्चिम प्रदेशले ४ विकेटको जित हात गरेको छ ।

सुदूरपश्चिमले प्रतियोगितामा दोस्रो जित निकाल्ने क्रममा गण्डकी प्रदेशलाई हराएको हो । २१० रनको विजयी लक्ष्य सुदूरपश्चिमले ४ बल बाँकी छँदा ६ विकेट गुमाएर पूरा गर्‍यो ।

सुदूरपश्चिमका लागि अर्जुन साउँदले सर्वाधिक ६८ रनको योगदान दिए । ७९ बलको सामना गरेका उनले ६ चौका र २ छक्का प्रहार गरे ।

राहुल भण्डारीले अविजित ४२ तथा खडक बोहराले ४० रन जोडे । गण्डकीका लागि सुवास भण्डारीले ३, सुदीप अर्यालले २ तथा अर्जुन कुमालले १ विकेट हात पारे ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको गण्डकीले ४९ ओभरमा सबै विकेट गुमाउँदै २०९ रन बनाएको थियो ।

गण्डकीका लागि दीपक डुम्रेले सर्वाधिक ५६ रनको योगदान दिए । ९९ बलको सामना गरेका उनले ७ चौका प्रहार गरे । उत्सव श्रेष्ठले ४० तथा सुवास भण्डारीले २८ रन जोडे ।

सुदूरपश्चिमका लागि कैलाश ऐरीले ३, आकाश चन्द र गजेन्द्र बोहोराले समान २ तथा नारायण जोशीले १ विकेट लिए । २ विकेट रन आउटका रूपमा प्राप्त भयो । जितसँगै सुदूरपश्चिमले ४ खेलमा ४ अंक जोड्दा गण्डकीको पनि ५ खेलमा ४ अंक नै छ ।

Loading...