बागमतीमाथि सुदूरपश्चिमको ऐतिहासिक जित, पुग्यो प्रतियोगिताको फाइनलमा

काठमाडौं– सुदूरपश्चिम प्रदेशले बागमती प्रदेशलाई ८ विकेटले हराउँदै १९ वर्षमुनिको राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा ९६ रनको विजयी लक्ष्य पछ्याएको सुदूरपश्चिमले २३.१ ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्‍यो ।

सुदूरपश्चिमको जितमा नरेश भट्टले सर्वाधिक ३७ रनको योगदान दिए । राहुल भण्डारी ३१ रनमा अविजित रहे । त्यस्तै, वसन्त कार्कीले ११ रन जोड्दा खड्कबहादुर बोहराले ५ रनमा आउट भए ।

बलिङतर्फ बागमती प्रदेशका गौतम केसी र प्रतिश जिसीले एक/एक विकेट लिए । त्यसअघि, टस हारेर पहिले ब्याटिङ थालेको बागमती ३०.१ ओभरमा सबै विकेट गुमाउँदै ९५ रनमा समेटियो । उसका लागि विवेक रानामगरले सर्वाधिक ३२ रनको योगदान दिए ।

कृश कार्कीले १७ रन जोडे । त्यसबाहेक अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा समेत रन बनाउन सकेनन् । सूयांशु कोइराला ८, उत्तम थापा ६, प्रशान्त महत एक, प्रतिश जिसी ६, गौतम केसी सात तथा विपुल खनाल तीन रनमा आउट भए ।

बलिङमा सुदूरपश्चिमका हेमन्त धामी एक्लैले पाँच विकेट लिए । त्यस्तै, शेर मल्लले चार हात पारे । सुदूरपश्चिम लिगमा दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेको हो । लिगको शीर्ष स्थानमा भने लुम्बिनी प्रदेश रहेको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशबीचको उपाधि भिडन्त आइतबार हुनेछ ।

Loading...