सुदूरपश्चिममाथि लुम्बिनीको ऐतिहासिक जित, जित्यो यू–१९ प्रतियोगिताको उपाधि

काठमाडौं– काठमाडौंमा सम्पन्न वाईवाई यू-१९ एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि लुम्बिनी प्रदेशले जितेको छ । आइतबार भएको फाइनल खेलमा सुदूरपश्चिमलाई ११३ रनले हराउँदै लुम्बिनीले उपाधि जितेको हो ।

सुदूरपश्चिम भने उपाधि जित्न चुक्यो । फाइनलमा लुम्बिनीले दिएको २१३ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले २८.३ ओभरमा सबै विकेट गुमाएर ९९ रन मात्र बनाउन सक्यो । उसका लागि लोकेश बमले २५, कप्तान खडक बोहराले २१, शेर मल्लले १५ र नारायण जोशीले ११ रन बनाए ।

बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । बलिङमा अजय चौहानले ५.३ ओभरमा २० रन दिएर ५ विकेट लिए । त्यस्तै, दुर्गेश गुप्ताले तीन र मोहम्मद हुसेनले दुई विकेट लिए ।

त्यसअघि, कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २१२ रन बनायो ।

लुम्बिनीका लागि कप्तान देव खनाल र विशाल विक्रम केसीले अर्धशतकीय पारी खेले । ९५ बलको सामना गरेका खनालले ५ चौका र ४ छक्काको मद्दतमा ७० रन बनाए ।

५१ रन जोडेका केसीले ६९ बलमा ४ चौका र २ छक्का प्रहार गरे । दुर्गेश गुप्ताले ३२ र प्रज्ज्वल थापाले २४ रनको योगदान दिए । सुदूरपश्चिमका लागि आकाश चन्दले तीन, हेमन्त धामी र शेर मल्लले दुई/दुई तथा नरेन साउँद र राहुल भण्डारीले एक/एक विकेट हात पर्दा एक विकेट रन आउटका रूपमा प्राप्त भयो ।

Loading...