सूर्य चम्किँदा भारतले दियो बलियो लक्ष्य, जोफ्राले गरे करियरकै उत्कृष्ट बलिङ

काठमाडौं : टी-२० सिरिजको चौथो खेलमा भारतले इंग्ल्याण्डलाई १ सय ८६ रनको लक्ष्य दिएको छ ।

टस हारेर ब्याटिङको मौका पाएको भारतले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ८५ रन बनायो ।

उसका लागि सूर्यकुमार यादव र श्रेयस अय्यरले आक्रामक ब्याटिङ गरे । सूर्यले ३१ बलमा तीन छक्का र ६ चौकासहित ५७ र अय्यरले १८ बलमा ५ चौका र एक छक्काको मद्दतमा ३७ रनको योगदान दिए ।

त्यस्तै, ऋषभ पन्तले ३०, केएल राहुलले १४, रोहित शर्माले १२, हार्दिक पाण्ड्याले ११ रन बनाए ।

बलिङमा तीव्र गतिका बलर जोफ्रा आर्चरले उत्कृष्ट प्रदर्शन गरे । उनले चार ओभरमा ३३ रन दिएर ४ विकेट लिए ।

अन्तर्राष्ट्रिय टी-२० करियरमा उनको यो उच्च प्रदर्शन हो । यसअघि टी-२० मा जोफ्राको उच्च प्रदर्शन २३ रन दिएर ३ विकेट लिनु थियो ।

त्यस्तै, मार्क उड, साम करन, बेन स्टोक्स र आदिल राशिदले एक/एक विकेट हात पारे ।

जारी सिरिजमा इंग्ल्याण्डले २-१ ले अग्रता बनाएको छ । यदि आजको म्याच जिते इंग्ल्याण्डले एक खेल अगावै सिरिज आफ्नो पक्षमा पार्नेछ ।

सिरिजमा जीवित रहन भारतले बिहीबार खेल जित्नैपर्ने हुन्छ ।

भारत दोस्रो खेलमा विजयी हुँदा पहिलो र तेस्रो म्याचमा भने पराजित भएको थियो । दुवै खेलमा भारत आठ/आठ विकेट पराजित भएको थियो ।

इंग्ल्याण्डको प्लेइङ-११ : जेसन रोय, जोस बटलर (विकेटकीपर), डेविड मलान, बेयरिस्टो, इयोन मोर्गन (कप्तान), बेन स्टोक्स, साम करन, आदिल रशिद, मार्क वुड, क्रिस जोर्डन र जोफ्रा आर्चर ।

भारतको प्लेइङ-११ : रोहित शर्मा, केएल राहुल, विराट कोहली (कप्तान), श्रेयस अय्यर, ऋषभ पन्त (विकेटकीपर), सूर्यकुमार यादव, हार्दिक पाण्ड्या, वाशिङ्टन सुन्दर, शार्दुल ठाकुर, राहुल चाहर र भुवनेश्वर कुमार ।

Loading...