रोहितको उत्कृष्ट कप्तानीमा भारतको रोमाञ्चक जित

रोमाञ्चक बन्यो सिरिज

काठमाडौं- इंग्ल्याण्डसँगको टी-२० सिरिजको चौथो खेलमा भारत ८ रनले विजयी भएको छ ।

यो जितसँगै पाँच खेलको सिरिज रोमाञ्चक बनेको छ । चार म्याचको समाप्तिमा दुवै टिमले दुई/दुई म्याच जितेका छन् ।

अब यी दुई टिमबीचको पाँचौ तथा ‘निर्णायक’म्याच शनिबार हुनेछ ।

सिरिजको चौथो खेलमा भारतले दिएको १ सय ८६ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्डले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ७७ रन मात्र बनाउन सक्यो ।

उसका लागि बेन स्टोक्सले ४६, जेसन रोयले ४०, जोनी बेयरिस्टोले १४, जोफ्रा आर्चरले अविजित १८ र क्रिस जोर्डनले १२ रन बनाए ।

बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।

बलिङमा हार्दिक पाण्ड्या र शार्दुल ठाकुरले उत्कृष्ट प्रदर्शन गरे । पाण्ड्याले चार ओभरमा १६ रन दिएर दुई र शार्दुलले चार ओभरमा ४२ रन दिएर तीन विकेट लिए ।

शार्दुलले जोनी बेयरिस्टो, कप्तान इयोन मोर्गन र क्रिस जोर्डनलाई आउट गर्दै खेलको रूप नै परिवर्तन गरिदिए ।

त्यस्तै, राहुल चाहरले दुई र भुवनेश्वर कुमार एक विकेट लिए ।

त्यसअघि, टस हारेर ब्याटिङको मौका पाएको भारतले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ८५ रन बनायो ।

उसका लागि सूर्यकुमार यादव र श्रेयस अय्यरले आक्रामक ब्याटिङ गरे । सूर्यले ३१ बलमा तीन छक्का र ६ चौकासहित ५७ र अय्यरले १८ बलमा ५ चौका र एक छक्काको मद्दतमा ३७ रनको योगदान दिए ।

त्यस्तै, ऋषभ पन्तले ३०, केएल राहुलले १४, रोहित शर्माले १२, हार्दिक पाण्ड्याले ११ रन बनाए ।

बलिङमा तीव्र गतिका बलर जोफ्रा आर्चरले उत्कृष्ट प्रदर्शन गरे । उनले चार ओभरमा ३३ रन दिएर ४ विकेट लिए ।

अन्तर्राष्ट्रिय टी-२० करियरमा उनको यो उच्च प्रदर्शन हो । यसअघि टी-२० मा जोफ्राको उच्च प्रदर्शन २३ रन दिएर ३ विकेट लिनु थियो ।

त्यस्तै, मार्क उड, साम करन, बेन स्टोक्स र आदिल राशिदले एक/एक विकेट हात पारे ।

रोहितको उत्कृष्ट कप्तानी

अन्तिम ३/४ ओभरमा नियमित कप्तान विराट कोहली बेन्चमा फर्किएका थिए । बेन्चमा फर्किनुको कारण नखुले पनि उनी विश्रामका लागि फर्किएको अनुमान गरिएको थियो । यद्यपि उनी खेल सकिँदासम्म पनि बेन्चमै बसे ।

विराटको अनुपस्थितिमा रोहितले कप्तानी गर्ने जिम्मेवारी पाए । उनको उत्कृष्ट कप्तानीमा अन्नतः भारतले इंग्ल्याण्डलाई ८ रनले पराजित गर्न सफल भयो ।

Loading...