भारतीय वानडे टिम : चार ‘आउट’ हुँदा तीन खेलाडी ‘इन’

काठमाडौं- भारतले इंग्ल्याण्डसँगको एकदिवसीय सिरिजका लागि टोली घोषणा गरेको छ ।

भारतीय कन्ट्रोल बोर्ड (बीसीसीआई)ले आज विराट कोहलीको कप्तानीमा १८ सदस्यीय टोली घोषणा गरेको हो ।

तीन खेलाडीले पहिलो पटक वानडे टिममा मौका पाएका छन् । कुणाल पाण्ड्या, सूर्यकुमार यादव, प्रशिद्ध कृष्णले पहिलो पटक वानडे टिममा स्थान बनाएका हुन् ।

पहिलो पटक टिममा मौका पाएका कुणाल अलराउन्डर हुन् । उनले टी-२० मा भने डेब्यू गरिसकेका छन् । कुणालले ८ अन्तर्राष्ट्रिय टी-२० म्याच खेलिसकेका छन् ।

सूर्यले इंग्ल्याण्डसँगको टी-२० सिरिजमा डेब्यू गरेका थिए । दोस्रो खेलमै उत्कृष्ट प्रदर्शन गरेका उनलाई वानडेमा पनि मौका दिइएको हो ।

प्रशिद्ध कृष्णाले भने हालसम्म अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका छैनन् । उनी तीव्र गतिका बलर हुन् ।

इंग्ल्याण्डसँगको वानडे सिरिजमा मयंक अग्रवाल, जसप्रीत बुमराह, रवीन्द्र जडेजा र मनिष पाण्डे भने टिमबाट बाहिरिएका छन् । यी चारै खेलाडीले अन्तिम पटक २०२० मा एकदिवसीय म्याच खेलेका थिए ।

जडेजा चोटका कारण टिममा नअटाएका हुन् । उनी अष्ट्रेलिया भ्रमणका क्रममा घाइते भएका थिए । त्यस्तै, बुमराहले हालै मात्र विवाह गरेका छन् । जसकारण पनि उनलाई इंग्ल्याण्डसँगको वानडे सिरिजमा नसमेटिएको अनुमान गरिएको छ ।

हालै सम्पन्न विजय हजारे ट्रफी एकदिवसीय क्रिकेटमा सर्वाधिक रन बनाएका पृथ्वी शा र देवदत्त पाडिक्कलले पनि इंग्ल्याण्डविरुद्धको वानडे सिरिजमा मौका पाएनन् ।

भारत र इंग्ल्याण्डबीचको वानडे सिरिज २३ मार्चदेखि सुरु हुनेछ ।

भारतको वानडे टिम : विराट कोहली (कप्तान) रोहित शर्मा (उपकप्तान), शिखर धवन, शुभमन गिल, श्रेयस अय्यर, सूर्यकुमार यादव, हार्दिक पांड्या, ऋषभ पन्त (विकेटकीपर), केएल राहुल (विकेटकीपर), युजवेन्द्र चहल, कुलदीप यादव, क्रुणाल पांड्या, वासिङ्टन सुन्दर, टी नटराजन, भुवनेश्वर कुमार, मोहम्मद सिराज, प्रशिद्ध कृष्ण र शार्दुल ठाकुर ।

Loading...