अफगानिस्तानले एक खेल अगावै जित्यो सिरिज, राशिद र नाबीको उत्कृष्ट प्रदर्शन

काठमाडौं- जिम्बाब्वेविरुद्धको टी-२० सिरिज अफगानिस्तानले एक खेल अगावै जितेको छ ।

आज दोस्रो खेलमा जिम्बाब्वेलाई ४५ रनले हराउँदै अफगानिस्तानले सिरिज एक खेल अगावै जितेको हो ।

पहिलो खेलमा अफगानिस्तान ४८ रनले विजयी भएको थियो । दोस्रो म्याचमा अफगानिस्तानले दिएको १ सय ९४ रनको लक्ष्य पछ्याएको जिम्बाब्वेले १७.१ ओभरमा सबै विकेट गुमाएर १ सय ४८ रन मात्र बनाउन सक्यो ।

उसका लागि रायन बर्ल्लले सर्वाधिक ४० रन बनाए । बलिङमा राशिद खानले तीन, मोहम्मद नाबी, नवीनउल हकले दुई/दुई, अमिर हम्जा, करिम जनत र फरीद अहमदले एकएक विकेट लिए ।

त्यसअघि, टस जितेर ब्याटिङ रोजेको अफगानिस्तानले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ९३ रन बनायो ।

उसका लागि अलराउन्डर मोहम्मद नाबीले आक्रामक ब्याटिङ गरे । उनले १५ बलमा चार चौका र २ छक्कासहित २६६ को स्ट्राइक रेटमा ४० रन बनाए ।

त्यस्तै, करिम जनत ५३, उश्मान घानी ४९, नजीबुल्लाह जर्दान १२ रनमा आउट भए । कप्तान अश्घर अफगानले अविजित १४ रन जोडे । बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा रन जोड्न सकेनन् ।

बलिङमा ब्लेसिङ मुजराबानीले सर्वाधिक दुई विकेट लिए । जिम्बाब्वे र अफगानिस्तानबीचको अन्तिम तथा तेस्रो खेल शनिबार हुनेछ ।

Loading...