भारत-इंग्ल्याण्डको ‘निर्णायक’म्याच आज, यस्तो हुन सक्छ दुवैको प्लेइङ-११

काठमाडौं : टी-२० क्रिकेट सिरिजअन्तर्गत इंग्ल्याण्ड र भारत अन्तिम तथा पाँचौ आज खेल्दैछन् ।

यी दुई टिमबीचको ‘निर्णायक’ म्याच नेपाली समयअनुसार साँझ ७ः१५ बजेदेखि नरेन्द्र मोदी स्टेडियममा सुरु हुनेछ ।

पाँच खेलको सिरिज २-२ को बराबरीमा छ । सिरिजको अन्तिम म्याच रोमाञ्चक हुने अनुमान गरिएको छ । हाल इंग्ल्याण्ड टी-२० आईसीसी वरियताको शीर्ष र भारत दोस्रो स्थानमा छ ।

सिरिजको चौथो म्याच ८  रनले जितेपछि भारतले सिरिजलाई बराबरीको अवस्थामा ल्याएको थियो ।

अन्तिम खेलमा भारतले प्लेइङ-११ मा केही परिवर्तन गर्ने सम्भावना छ । टिमका ओपनिङ ब्याट्सम्यान केएल राहुल पछिल्लो समय खराब लयमा छन् ।

जारी सिरिजमा उनले अपेक्षाकृत प्रदर्शन गर्न सकेका छैनन् । जसकारण महत्वपूर्ण खेलमा राहुललाई विश्राम दिँदै इशान किशनलाई खेलाउने सम्भावना छ ।

इशानले आफ्नो डेब्यू म्याचमै आक्रामक अर्धशतकीय पारी खेल्दै टिमलाई जिताउन अहम् भूमिका खेलेका थिए ।

चोटका कारण चौथो खेल गुमाएका उनी अब भने फिट भइसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

इंग्ल्याण्डको टिमले भने चौथो खेलमा हारको सामना गरे पनि प्लेइङ-११ मा परिवर्तन गर्ने सम्भावना कम छ ।

भारतको सम्भावित प्लेइङ-११ : इशान किशन, रोहित शर्मा, सूर्यकुमार यादव, विराट कोहली (कप्तान), श्रेयस अय्यर, ऋषभ पन्त (विकेटकीपर), हार्दिक पाण्ड्या, वाशिङ्टन सुन्दर, शार्दुल ठाकुर, राहुल चाहर र भुवनेश्वर कुमार ।

इंग्ल्याण्डको सम्भावित प्लेइङ-११ : जेसन रोय, जोस बटलर, डेविड मलान, जोनी बेयरिस्टो, इयोन मोर्गन (कप्तान), बेन स्टोक्स, साम करन, आदिल राशिद, मार्क वुड, क्रिस जोर्डन र जोफ्रा आर्चर ।

Loading...