बंगलादेशविरुद्ध न्यूजिल्याण्डको फराकिलो जित

काठमाडौं- बंगलादेशसँगको एकदिवसीय सिरिजअन्तर्गत पहिलो खेलमा घरेलु टोली न्यूजिल्याण्ड ८ विकेटले विजयी भएको छ ।

बंगलादेशले दिएको १ सय ३२ रनको सामान्य लक्ष्य न्यूजिल्याण्डले २१.२ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍यो ।

उसका लागि मार्टिन गुप्टिलले आक्रामक सुरुवात दिलाए । उनले १९ बलमा चार छक्का र तीन चौकासहित ३८ रन बनाए ।

त्यस्तै, अर्का ओपनर हेनरी निकोल्शले ५३ बलमा ६ चौकासहित अविजित ४९ रनको योगदान दिए ।

डेभन कोनवे २७ रनमा आउट हुँदा विल योङ ११ रनमा अविजित रहे । बलिङमा तस्किन अहमद र हसन मेहमूदले एक/एक विकेट हात पारे ।

त्यसअघि, टस हारेर ब्याटिङको मौका पाएको बंगलादेश ४१.५ ओभरमा १ सय ३१ रन बनाएर अलआउट भएको हो ।

उसका लागि महमूदुल्लाहले २७, मुश्फीकुर रहमीले २३, लिटन दासले १९, कप्तान तमिम इकबालले १३, मेहदी हसनले १४ र तक्सिन अहमदले १० रन बनाए ।

बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।

तीव्र गतिका बलर ट्रेन्ट बोल्टले घातक बलिङ गरे । उनले ८.५ ओभरमा २७ रन दिएर चार विकेट लिए ।

त्यस्तै, जेम्स नीशम, मिचेल सान्टनरले दुई/दुई र म्याट हेनरीले एक विकेट हात पारे । आजको जितसँगै तीन खेलको सिरिजमा न्यूजिल्याण्डले १-० ले अग्रता बनाएको छ ।

यी दुई टिमबीचको दोस्रो म्याच मंगलबार हुनेछ । तीन खेलको वानडे सिरिजलगत्तै दुवै टिमले तीनै खेलको टी-२० सिरिज पनि खेल्ने छन् ।

 

Loading...